ढाँडेखोलाको किनार बेलकोटगढी न.पा. को वडा नं. १३ दुई डाँडाको वीच केही सम्म परेको फाँट ढाँडेफेदी बजारको वीच भाग समुन्द्रि सतह देखि ५४० मिटर उचाई , उत्तरी अक्षाँश २७०.८८२९६’ र पुर्वि देशान्तर ८५० १९९४१’मा अवस्थित यस विद्यालय (श्री सूर्यमती मा.वि.) को स्थापना वि.सं. २०१३ सालमा संस्थापक स्व. श्री गंगाप्रसाद पाण्डे र स्व. श्री हरिकृष्ण सेढाइको सक्रियतामा भाषा पाठशालाको रुपमा स्थापना भएको हो । आफ्नो स्थापना कालमा १५/२० जवान विद्यार्थीहरु लिएर चण्डि, दुर्गाकवच, र बाह्रखरीको किताबबाट पढाई शुरुवात गरिएको थियो । पढाउनको निम्ति नुवाकोटको पण्डित श्री कृष्णप्रसाद पाण्डेज्यू र पछि श्री घनप्रसाद सिलवालज्यू संलग्न भएको देखिन्छ । केही समयको अध्यापन कार्य पश्चात वहाँहरुले पढाउन छाड्नु भयो । त्यहि समयमा उक्त भाषा पाठशाला थानसिङ्गको रिठ्ठे चउर भन्ने ठाँउमा पुगेको कुरा सुन्न पाईन्छ । शिक्षा प्रतिको मोह र विद्यालयको चासोको कारण वि.सं. २०२८ तिर यस ढाँडेफेदी बजारका शिक्षाप्रेमीहरु स्व. चित्रनारायण गुरुवाचार्य, स्व. रामबहादुर गुरुवाचार्य, स्व. विष्णुबहादुर गुरुवाचार्य, स्व. कृष्णबहादुर श्रेष्ठ लगायत पूर्व संस्थापक स्व गंगाप्रसाद पाण्डेज्यू को सक्रियतामा भाषा पाठशालाको रुपमा ढाँडेफेदी वजारको वीच भागमा भूई छाप्रो हालि पण्डित गुरु गंगाधर खकुराललाई नियुक्ति दिलाई पूनः दुर्गाकवच,चण्डि र बाह्रखरीको अध्ययन अध्यापन गराएको बुझिएको छ । वहाँ पनि केही समय पछि जागिरको क्रममा काठमाडौं जानुभयो र त्यसपछि धादिङ्ग जिल्लाको शिक्षक श्री निलकण्ठ पाण्डे नियुक्ति लिई आउनुभयो । वहाँको कार्यकालमा कक्षा २ सम्म अपग्रेड हुने मौका विद्यालयले पाएको देखिन आउँछ । वहाँ पनि घरपायक मिलाई सरुवा जानुभयो र यस विद्यालयलाई तदारुकताको साथ निरन्तरता दिन श्री कृष्णकुमार थपलिया सरुवा भई आउनुभएको देखिन्छ । यसै समयमा विद्यालय संचालक समिति गठन भई विद्यालयलाई तदारुकताको साथ सञ्चालन गरिएको देखिन्छ । त्यस समितिमा तपसील बमोजिमको पदाधिकारीहरु रहनुभएको थियो ।
क्र.सं. पद नाम, थर
१ अध्यक्ष श्री गंगाप्रसाद पाण्डे
२ सदस्य श्री चित्रनारायण गुरुवाचार्य
३ सदस्य श्री दर्गाबहादुर थापामगर
४ सदस्य श्री भोजबहादुर अ.क्ष.
५ सदस्य–सचिव श्री प्रधानाध्यापक
यस समितिको र प्रधानाध्यापक श्री कृष्णकुमार थपलियाको सक्रियतामा यस विद्यालयमा विद्यार्थीहरु अत्यधिक मात्रामा जम्मा भई पढ्न शुरु गरेको देखिन्छ । यसै समयमा कक्षा ३ अपग्रेड गरिएको थियो र विद्यालयलाई मिडिल स्कुल बनाउन ठूलै प्रयत्न पनि भयो । केही समयपछि वहाँपनि घर पायक मिलाई सरुवा हुनुभयो । यस विद्यालयको प्रगति एवं विकासको जिम्मा श्री मदनविक्रम के.सी.कोे काँधमा आयो तर अपसाँेचको कुरा विद्यालयको प्रगति घट्यो र वहाँको पनि सरुवा भयो ।
प्रधानाध्यापक श्री गोरेबहादुर श्रेष्ठको अगुवाईमा विद्यालयको निर्माण र विकास भएके पाईन्छ । वि.सं. २०३९/१०/०२ गते ३२ हात लम्वाई भएको १७ हात चौडाई भएको भवन निर्माण गरी शै.स. २०३९/०४० मा कक्षा ४ र शै.स. २०४०/०४१ मा कक्षा ५ अपग्रेड गरी विद्यालय संचालन गरिएको थियो । वहाँपनि २०५२ असोज ८ गतेका दिन घरपायक मिलाई सरुवा जानुभयो र विद्यालयको विकासको जिम्मा श्री केशवराज पाण्डेमा स¥यो । यहि समयमा नि.मा.वि. सञ्चालनको लागि धरौटी राखियो र आ.प्रा.शि.प. भवनको सम्झौता भयो तर भवन निर्माण गर्न विविध समस्या देखिए पश्चात वहाँले पनि मिति २०५२÷१२÷०२ गतेका दिन प्रधानाध्यापक पदबाट राजिनामा दिनुभयो ।
विद्यालयको विकास र निर्माणको जिम्मेवारी को साथै प्रधानाध्यापकको भार श्री अमृतमान गुरुवाचार्यको काँधमा आयो । नि.मा.वि. तह अनुमति क्षे.शि.नि.को मिति २०५३/२/१५ गतेको परिपत्र अनुसार जि.शि.का. ले मिति २०५३/२/१७ गतेको दिन अनुमति पत्र दियो । यसै वर्ष भूकम्पको ब्लक २ वटा र आ.प्र.शि.प. ब्लक निर्माणगरी शैक्षिक सत्र २०५३/०५४ को मिति २०५३÷११÷१७ मा कक्षा ७ र शै.स. २०५४/०५५ मिति २०५५/२/२१ मा कक्षा ८ अपग्रेड गरियो। विद्यालयले अग्रगति लिइरहेको समयमा शैक्षिक सत्र २०६२/०१/२३ बाट मा.वि. तहको अनुमति प्राप्त ग¥यो । वि.सं. २०६७ बाट उ.मा.वि. कक्षा सञ्चालनको लागि अनुमति पाई कक्षा सञ्चालन भएको देखिन्छ । यसै क्रममा २०७७७/०९/०२ मा अमृतमान गुरुवाचार्यले जागिरबाट अवकाश लिए पछि प्रधानाध्यापकको जिम्मेवारी श्री राजाराम पाण्डेमा आएको छ । विद्यालयको सर्ब पक्षीय बिकासको लागि सबैसँग सहकार्य गर्दै विद्यालयलाइ अघि लैजाने उद्देस्य राखिएको छ । सबै वालवालिका रमाउन सक्ने विद्यालयको वातावरण मिलाउने गरी योजना निर्माण गरिएको छ । भविष्यमा यस सेवा क्षेत्रका सम्पूर्ण किसिमका वालवालिकालाई शिक्षाको उज्यालो घामबाट टाढा रहन नपरोस् भन्ने लक्ष्य यस विद्यालयकोे रहेको छ ।
भौगोलिक अबस्था
समुन्द्रि सतह देखि ५४० मिटर उचाई , उत्तरी अक्षाँश २७०.८८२९६’ र पुर्वि देशान्तर ८५०१९९४१’मा अवस्थित यस् बिद्यालय जिल्ला सदरमुकाम विदुरदेखि पूर्व पदचाप यात्रामा करिव गा.वि.स. को कार्यालय हुँदै ५ कोष र धागो झैं सोझो यात्रामा सूर्यमती (तादीखोला) को पवित्रताले छोट्याइ दिने करिव ३ तीन कोषको चुच्चे ढुङ्गो उही टुङ्गोको यात्रा गन्तब्य हो यो श्री सूर्यमती मा.वि. । पवित्रताको धार हाल्दै बँहदै गरेकी सूर्यकुण्डको जलप्रवाह नै सूर्यमति भएको हुँदा त्यसैमा समागम हुन पुगेको सिन्दुरे ढाँडे खोलाको किनारमा अवस्थित यो विद्यालय तिनै कुण्ड प्रवाहको पवित्र नामबाट नामाङ्कन भएको छ । ढाँडेफेदी जसले आफैंमा विगतको पूर्व–पश्चिम राजमार्गको आफ्नै ईतिहास बोकेको छ । यहि थलोमा उभिन पुगेको श्री सूर्यमती मा.वि. जस्को भौगोलिक अवस्थितिलाई हेर्ने हो भने चारैतिर होँचा अग्ला ढिस्को एवं डाँडाहरुले घेरिएर रहेको ढाँडतुल्य थलो हो । यहाँ ढाँडको अर्थ खोँच एवं साँगुरो थलो हो । यो थलो गर्मिमा ३२०अ को तापक्रममा रमाउँछ भने जाडोमा ७–१००अ सम्मको चिस्यानले यसको मुटु कमाँउछ । रानीपौवाबाट ५५ मिनेट उत्तर पश्चिम, सदरमुकाम विदुरबाट ४० मिनेट दक्षिण–पूर्व, बेलकोटगढी न.पा.वडा कार्यालय भवन वाराहीबाट ५० मिनेट उत्तर र ढिकुरेबाट ४० मिनेट दक्षिण सडक सञ्जाल दूरीमा अवस्थित छ ।
बिद्यालय रहेको समुदायको बनोट
यस विद्यालयको सेवाक्षेत्र (आधारभूत तर्फ) भित्र जातियताको बाहुल्यताको आधारमा २३.७० प्रतिशत राई, १७.३५ प्रतिशत नेवार,११.४७ प्रतिशत तमाङ,१६.३४ प्रतिशत क्षेत्री, १३.६९ प्रतिशत नेपाली, ११.६४ प्रतिशत ब्राम्हण, ४.१७ प्रतिशत मगर र १.६४ प्रतिशत गुरुङ्ग बसोबास गर्दछन । धार्मिक संस्कार तर्फ दृष्टि दिने हो भने ८८.५३ प्रतिशत हिन्दु धर्मावलम्विहरु छन् भने ११.४७ प्रतिशत बौद्ध धर्मावलम्विहरु छन ।
